काठमाडौं । कोरोना महामारीले नेपाली काँग्रेसमा महाधिवेशनका गतिविधि ‘आइसोलेट’ भए पनि सभापतिका आकांक्षीहरु आफ्नो पक्षमा रणनीति बनाउन तथा राजनीतिक भेटवार्तामा व्यस्त भइरहेकै छन् । असोजको अन्तिम साता सभापतिका आकांक्षी डा. शेखर कोइरालाले पार्टीमा तेस्रो समूहका नेता कृष्णप्रसाद सिटौलासँग भेटवार्ता गरेको तथ्य प्रकाशमा आएको छ । सिटौला र शेखरको भेटवार्तालाई निकै चासोका साथ लिइएको छ । किनभने केही अघि डा. कोइरालाले पार्टीमा निर्णायक र वैचारिक हिसाबले सिटौलाको समूह निरीह रहेको टिप्पणी गरेका थिए ।
सभापति शेरबहादुर देउवाविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको मोर्चाबन्दीमा सिटौलाले साथ नदिएपछि १२ असोजमा डा. कोइरालाले यस्तो टिप्पणी गरेका थिए । एक कार्यक्रममा कोइरालाले भनेका थिए, ‘उहाँहरु (सिटौला समूह) आफूलाई वैचारिक समूह भन्नुहुन्छ, त्यस्तो हो कि होइन, व्यवहारमा देखिन्छ नि !’
सिटौलालाई धेरै महत्त्व दिन आवश्यक नभएको आशय व्यक्त गर्दै उनले सिटौलाले हस्ताक्षर नगर्दैमा केही नहुने जिकिरसमेत गरेका थिए । ‘सिटौलाजीले हस्ताक्षर नगर्दैमा केही हुन्छ र ? उहाँले जोसँग सहकार्य गर्न चाहनुहुन्छ, त्यसैसँग गर्न दिउँ न, हामीले किन धेरै चिन्ता लिएको ?,’ शेखरको भनाइ थियो ।
त्यतिबेला पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गराउन लागेको विरोधपत्रमा सिटौलाको असहमति रहेपछि शेखरले उक्त टिप्पणी गरेका थिए ।
सभापति देउवाका पछिल्ला गतिविधिविरुद्ध पौडेल पक्षले आइतबार केन्द्रीय कार्यालयमा सामूहिक हस्ताक्षरसहित विरोधपत्र दर्ता गराउन खोजेको थियो । तर सिटौलाले हस्ताक्षर गर्न मानेनन् । केन्द्रीय विभागको गठन र त्यसमा भइरहेको मनोनयन, क्रियाशील सदस्यताको वितरण र नवीकरण, पार्टी संरचनाको समायोजनलगायतका मुद्दा विरोधपत्रमा समावेश थिए ।
सभापति देउवाले महाधिवेशनलाई आफ्नो पक्षमा पार्न यी विषयमा विधानविपरीत निर्णय गराएको पौडेल पक्षको आरोप थियो । तर सिटौला समूह ती विषयमा कसैको पक्षमा उभिएन । आसन्न महाधिवेशमा सिटौला समूहको भूमिका के हुन्छ र संस्थापन तथा पौडेल पक्षमध्ये कोसँग गठबन्धन गर्ला भन्नेजस्ता अड्कलवाजी भइरहेका समयमा डा. कोइरालाले त्यस्तो भनाइ व्यक्त गरेका थिए ।
शेखरले सिटौलाप्रति लक्षित गर्दै भनेका थिए, ‘कसैकसैलाई वैचारिक समूह हो भन्दै गुट बनाउन मजा आउने गरेको छ ।’ उनले आफू त्यस्तो काममा नरहेको पनि दावी गरेका थिए ।
शेखरको उक्त टिप्पणीप्रति सिटौलाको चित्त दुखाइ थियो । सिटौलाले १२ असोजमा रातोपाटीसँगको औपचारिक कुराकानीमा कसैले आफ्नो हैसियतमाथि प्रश्न उठाए पनि आफू पार्टीभित्र ‘ध्रुवतारा’ भएको जिकिर गरेका थिए ।
सिटौला निकट स्रोत भने शेखरको पछिल्लो टिप्पणीमा सिटौलाको चित्तदुखाइ रहेकोले मन माझामाझका लागि भेटवार्ता भएको बताउँछ । शेखरले भेटमा जिब्रो चिप्लिँदा उक्त कुरा फुत्किएको सुनाएको स्रोतको भनाइ छ ।
आफ्नो अभिव्यक्तिबाट सिटौला चिढिएको सुइँको पाएपछि शेखर कोइराला केही दिनअघि सिटौला निवास चण्डोल पुगेको बुझिएको छ । सिटौलाले पनि केही दिनअघि शेखर कोइराला आफूलाई भेट्न निवासमा आएको पुष्टि गरे । तर भेटवार्तामा के कुराकानी भयो भन्ने खुलाउन चाहेनन् ।
पाइन्छ ।
फेसबुक देखि टिप्पणी गर्नुहोस